धरहरा
एक निमेषको कम्पमै ढली जाने
म कमजोर,
बुढो धरहरा !
कुनै समय मैले
कैयौलाई बुई चढाएर हेराए पुरै काठमाण्डौ
मेरो कमजोर काधमा टेकाएर जमिन देखाए
कमिला जस्तै भुई -मान्छे
नदी जस्तै सडक
र बग्दै गरेका मोटरहरू
सामुन्ने उभिएको टेलिकमको
निलो सिसा भित्रको
बलियो छड-सिमेन्टले
मलाई चिथोर्थ्यो
सिसिटिको
आधुनिक, भब्य र भलाद्मी अग्लाईले
मलाई गिज्याउथ्यो
काठमाण्डौ मलको
बलियो जगले
मलाई कटाक्ष गर्थ्यो
जवाफमा मैले उनीहरूलाई
मेरो जिउदो ईतिहास मात्र भन्न सक्थे
जस्तो कि,
-म सगँ भिमसेनको स्पर्श छ
-चन्द्र शम्शेरको पुनर्ताजकी मसाज छ
-मैले शताब्दी समय भोगेको छु
-म गर्न सक्थे कोतपर्व, भण्डारखाल पर्वको बयान
-चुपचाप चुपचाप उभिएर
दरवार हत्या काण्ड हेरेको हुँ
भन्न सक्थे,
-जस्को खातिर शहिद बने सपुतहरू
उनैले शहिदगेटको सामुन्ने
सिहदरवार भित्र शहिदकै मर्दन गरे
बीचरा भद्रकालिले मलाई सापट माग्दथ्यो
मेरो अग्लाई
दिन सकेको भए कम्तीमा छेक्न सकिन्थ्यो सिहदरवारकोनाङो नाच
कठै शहिदहरूलाई लाचार हुनबाट जोगाउन
भएको अग्लाई पनि
दान गर्न नसक्ने
म पापी धरहरा
मेरो पाउनेर बसेर कुल्फी र आइसक्रीम
खानेहरू सगँ हुनुपर्छ मेरो सफेद याद,
मेरो वरिपरि फूल रोपेर
बगैचा बनाउनेहरू सगँ होला केही गम,
ती जोडिहरू संगँ होला केही संस्मरण
जो मेरा अध्यारा खुड्किलाहरू
उक्लदा उक्लादै
थाकेको बाहाना गर्थे र माया सट्दै बस्थे
मेरो पुरानो मक्किसकेको भित्तामा
अडेस लगाएर आँखाँ चिम्लन्थे
र लजाउदै हतार हतार उक्लन्थे-ओर्लन्थे
जिस्किदै मेरो काध टेकेर
गोदावारिले पठाएको अर्गानिक हावा निल्थे
मेरो आँखाँनेरको मूर्ति पुज्थे
र मलाई पशुपति,मनकामना बनाइदिन्थे
भगवान बनाइदिन्थे
कठै कसैको चाहना पुरा गर्न नसक्ने
म कस्तो भगवान ?
कसैलाई आशीर्वाद दिनुको बदला
च्याप्न, मार्न जानेको
म क्रुर, कुख्यात हत्यारा धरहरा
कास आईफल टावरको जस्तो बलियो मेरुदण्ड हुदो हो त
म पनि उभिएको उभियै हुन्थे
कठै म त पुरानो मक्किसकेको, गलिसकेको बुढो जो परे
कति दशक उभिन सक्थे र एक्लो मसिनो खुट्टाले ?
म त ढल्नु नै थियो
म कति लाटो, ढल्छु भनेर बोल्न नसक्ने
म कति सुस्त, ढल्छु भनेर ईशारा पनि गर्न नसक्ने
म कति निम्छरो धरहरा ?
यहाँ हास्नलाई बाहाना चाहिने,
यहाँ रुनलाई बाहाना चाहिने,
यार मलाई पनि त
चाहिएको थियो बाहाना – ढल्नलाई
मलाई त जरुर ढल्नु नै थियो
भूकम्प जो बाहाना भैदियो
यत्ति भन्नु छ
मलाई जन्मदै बुढो नबनाउ, कमजोर नबनाउ
कमसेकम उभिन सकुँ
सपिङ््ग मल झै
छाती फुलाएर
त्यसैले इन्जिनियर सा’प
म ढलेर खण्डहर बनिसकेको धरहरा
तिम्रो सृङगार कुरि बसेको छु ।

Comments
Post a Comment