तपाईंले तँ को होस् भन्नु होला

तपाईंले तँ को होस् भन्नु होला
मलाई म, मै हुँ भन्ने आँट छैन
म त्यस्तो देशको नागरिक
झरनाको मुनि बसेर ओठ मुख सुकाउनु पर्छ
रगतमा करेन्ट बगाउने जात
घरमा बिजुली बल्दैन आँखा हेरि हेरि निदाउनु पर्छ,

दुई खुट्टा भएकै कारण सबैले मान्छे भन्छन्
तर नागरिक भन्न लाज लाग्छ
श्री तीनको आठपहरिया
श्री पाँचको रैती
श्री आठको झोले
म त्यस्तो जनता
सार्वभौम सम्पन्न भनेर संविधान लेख्नेलाई पाप लाग्छ,
जब जब भोट हाल्न लाईन बसिन्छ
बन्चरो देखाएर मतपत्र खोसिन्छ
कसरी सार्वभौम सम्पन्न छु मलाई थाहा छैन
लालपुर्जा र नागरिकता
दुईवटा दह्रा प्रमाणहरू छन्
तै पनि म यो देशको हुँ जस्तो लाग्दैन ।

Comments

Popular Posts