महाशय झुक्किन पाइन्छ ?

म एउटा यस्तो देशको कुरा गर्दैछु
जहाँ एउटा स्वाभिमानी
शिर ठाडो पारेर बोल्न पाउँदैन
सत्ताको हर्ताकर्ता झुक्किएर
कसैको हातखुट्टा भाँच्न सक्छ
हो साँच्चै झुक्किएर मान्छे समात्छ
र दोहोरो मुठभेडको नाममा
यहाँ बङ्गारा झारिन्छ
नेपाल आमाको
जिउँदो सन्तान
जो संसार बदल्न
विचारको हतियार बोकेर हिँडेको छ
उसैको दिनदहाडै कत्लेआम गरिन्छ
ए महाशय,
के यसरी झुक्किन पाइन्छ ?
यहाँ फटाहाहरू गुड्डी हाँकिरहेछन्
भ्रष्टहरू भोज गरिरहेछन्
आफूलाई उपल्लो दर्जाको मान्नेहरू
त्यही भोजमा ड्मस्ट्रिक र रोष्ट
चपाउँद‌ै मोज गरिरहेछन्
अनि एउटा गाउँमा चेतनाको
दियो सल्काएर भोकभोकै खट्ने
सडकसडक डुलिहिँड्ने
होनहार मान्छेलाई झुक्किएर
समातिन्छ, थुनिन्छ र भनिन्छ
झुक्किएर फलानाको ज्यान गयो
ए महाशय
यसरी झुक्किन पाइन्छ ?
कसैको अनुहार मिल्ला
त कसैको नाम मिल्ला !
कसैको बोली मिल्ला
अनि कसैको हिँडाइ मिल्ला !!
कसैसँग विचार नमिल्दा, कसैको दास नबन्दा
फासीवादलाई अस्वीकार गर्दै
गलत कामको घृणा र मर्नसमेत तयार
विचारले भरिएको एउटा मान्छेको
के झुक्किएर अस्तित्व नामेट गर्न मिल्छ ?
झुक्किएर दाँत झार्न मिल्छ ?
झुक्किएर मान्छे मार्न पाइन्छ ?
विचारलाई कैद गर्न खोज्ने
ए महाशय,
के यसरी झुक्किन पाइन्छ ?

Comments

Popular Posts